काठमाडौं : लगानीकर्ताहरुले फेडरल रिजर्भको चाखलाग्दो ५० प्रतिशत ब्याजदर कटौतीको स्वागत गरेपछि बिहीबार अमेरिकाको सेयर बजारले उचाई लिएको छ । डाउ जोन्स ५२२ अंक बढेर नयाँ कीर्तिमान बनाउँदै पहिलो पटक ४२ हजारको विन्दु पार गरेको छ । ‘एसएन्डपी ५००’ १.७ प्रतिशत बढेर पहिलो पटक ५ हजार ७०० विन्दु नाघ्यो र नयाँ उचाइमा बन्द भयो ।
यता, नास्ड्याक कम्पोजिटले भने २.५१ प्रतिशतले बढेर १८ हजार १३ विन्दुमा बन्द भएको छ । अमेरिकी बजारमा सूचीकृत प्राविधिक क्षेत्र कम्पनीका सेयरहरुले भाउमा वृद्धि आउँदा बजार बढेको हो । एनभिडियाको सेयर करिब ४ प्रतिशतले बढेको छ । टेस्लाका सेयर भाउ ७.३६, मेटाको ३.९ प्रतिशतले वृद्धि भएको छ ।





