काठमाडौँ, असोज ४ गते । चुनौतीबिच पनि वाणिज्य बैङ्कहरूको नाफा बढेको छ । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो महिना साउनमा वाणिज्य बैङ्कहरूको नाफा नौ अर्ब नाघेको छ ।
गत वर्षदेखि नै अर्थतन्त्रमा देखिएको शिथिलताको असर मुलुकको बैङ्किङ क्षेत्रमा पनि परेको देखिन्छ । समग्र व्यापारमा कमी, उधारो नउठ्ने, चेकहरू बाउन्स हुने, खराब कर्जा पनि बढेको छ । जसले गर्दा बैङ्कहरूले सोचेजस्तो नतिजा दिन सकेका छैनन् तर पनि बैङ्कहरूको नाफा भने अघिल्लो वर्षको तुलनामा बढी हो ।
नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको तथ्याङ्क अनुसार साउनमा २० वटा वाणिज्य बैङ्कले कुल नौ अर्ब १७ करोड ६१ लाख रुपियाँ नाफा आर्जन गरेका हुन् । यो नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ७.६३ प्रतिशत बढी हो । अघिल्लो वर्षको सोही अवधिमा बैङ्कहरूले आठ अर्ब ५२ करोड रुपियाँ नाफा आर्जन गरेका थिए ।



