११ प्रतिशतले घट्यो एफडीआई, दुई महिनामा झन्डै १३ अर्बको एफडीआई प्रतिबद्धता


  • Himalayan Bank Limited (HBL)
११ प्रतिशतले घट्यो एफडीआई, दुई महिनामा झन्डै १३ अर्बको एफडीआई प्रतिबद्धता

चालु आर्थिक वर्षको पहिलो दुई महिनामा १२ अर्ब ९८ करोड अर्थात् करिब १३ अर्ब रुपैयाँ प्रत्यक्ष विदेशी लगानी (एफडीआई) प्रतिबद्धता आएको छ । जुन गत आर्थिक वर्षको दुई महिनाको तुलनामा ११.२० प्रतिशतले कम हो । गत आर्थिक वर्ष साउन र भदौमा १४ अर्ब ६२ करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको थियो ।

उद्योग विभागका अनुसार साउनमा ९ अर्ब १५ करोड २५ लाख र भदौमा ३ अर्ब ८३ करोड २४ लाख रुपैयाँ प्रतिबद्धता आएको हो । गत आर्थिक वर्षको साउनमा ११ अर्ब ९३ करोड र भदौमा २ अर्ब ६९ करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको थियो । गत आर्थिक वर्षभर ५४ अर्ब ८७ करोड विदेशी लगानी प्रतिबद्धता आएको थियो भने ८ अर्ब ४६ करोड रुपैयाँ मात्रै भित्रिएको थियो ।

गत वैशाखमा तेस्रो लगानी सम्मेलनबाट उद्योग विभागले ‘अटोमेटिक रुट’ मार्फत विदेशी लगानी स्वीकृति हुने प्रणाली कार्यान्वयनमा ल्याएको थियो । स्वचालित मार्गबाट कुल पुँजी ५० करोड रुपैयाँसम्म हुने उद्योग व्यवसायमा स्वदेशी तथा विदेशी लगानी गर्न सकिनेछ । सूचना प्रविधिमा आधारित उद्योगमा न्यूनतम सीमा लागू हुँदैन । विदेशी लगानी प्रतिबद्धता बढे पनि भित्रने रकम भने न्यून रहेको तथ्यांकले देखाउँछ ।

गत आर्थिक वर्ष नेपालमा खुद ५ अर्ब ९६ करोड १३ लाख रुपैयाँ मात्र एफडीआई भित्रिएको छ । कुल ७ अर्ब ७६ करोड ८६ लाख विदेशी लगानी भित्रिए पनि १ अर्ब ८० करोड ७३ लाख रुपैयाँ बराबर पुरानो लगानी बाहिरिएकाले खुद विदेशी लगानी ५ अर्ब ९६ करोड १३ लाख रुपैयाँ देखिएको हो ।

Read More