उर्लाबारी, भदौ ३१ गते । कोशी प्रदेश सरकारको प्रदेश सहकारी रजिस्ट्रार तथा प्रशिक्षण कार्यालयले प्रदेशको अनुगमन तथा नियमन क्षेत्रका ७८ वटा सहकारी संस्था उच्च जोखिममा रहेको जनाएको छ । कार्यालयले जोखिममा रहेका सहकारी संस्थाको नाम भने उल्लेख गरेको छैन ।
कार्यालयले प्रदेश कार्यक्षेत्र रहेका १०७७ वटा सहकारी मध्ये ४६२ वटा सहकारी संस्थाको निरीक्षण तथा वित्तीय विश्लेषण गर्दा एउटा पनि सहकारी अति न्यून जोखिममा देखिएको छैन । कार्यालयको तथ्याङ्क अनुसार झापामा सबैभन्दा बढी ३५ वटा सहकारी संस्था उच्च जोखिममा रहेका छन् । यस्तै मध्यम जोखिममा १४१ वटा र न्यून जोखिममा आठ वटा सहकारी रहेका छन् । मोरङमा १९ वटा सहकारी उच्च जोखिममा रहेको देखिएको छ । मध्यम जोखिममा १२८ र २० वटा सहकारी न्यून जोखिममा रहेका छन् । सुनसरीमा १५ वटा उच्च जोखिममा,४० वटा मध्यम जोखिममा र ३ वटा न्यून जोखिममा रहेका छन् ।



