महोत्तरी : ३३ केभी बिजुलीको तार र पोल जडान गर्न स्थानीयले अवरुद्ध गरेपछि महोत्तरीको गौशालामा स्थापना भएको पेपर उद्योग सञ्चालन हुन सकेको छैन। गौशाला नगरपालिका– १ रामनगरमा दुई अर्बको लागतमा निर्माण भएको नेपाल पल्प एन्ड पेपर इन्डस्ट्रिज सञ्चालनमा अनिश्चितता देखिएको हो।
गौशाला नगरपालिका–१ इटाटारमा स्थापित भएको उद्योगमा दैनिक एक सय टन ‘राइटिङ एन्ड प्रिन्टिङ पेपर’ उत्पादन गर्न सक्ने क्षमताको उद्योग स्थापना भएको छ। उद्योग स्रोतले दिएको जानकारीअनुसार यहाँ प्लान्ट निर्माणको काम अन्तिम चरणमा पुगेको छ। यहाँ एकमात्र विद्युत् संरचनाकै कारण उद्योग परिसरमा जडान गरिएको ठूलाठूला उपकरणहरू प्रयोगविहीन अवस्थामा रहेका छन्। विद्युत् नहुँदा ती उपकरणहरू अझ परीक्षण हुन पनि सकेका छैनन्।



