काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँगको शिष्टाचार भेटका क्रममा नेपालका लागि गणतन्त्र जाम्बियाका गैरआवासीय राजदूत पर्सि प्याट्सन चन्दाले नेपालको खानी तथा खनिजजन्य पदार्थ उत्खननमा प्राविधिक सहयोग आदानप्रदान गर्ने प्रतिबद्धता जनाएका छन् ।
उद्योग मन्त्रालयमा आज भएको भेटमा राजदूत चन्दाले नेपाल र जाम्बियाको भौगोलिक बनावट समान रहेको उल्लेख गर्दै दुवै देशबीच खानी तथा खनिज पदार्थ उत्खननका लागि सहकार्य गर्न जाम्बिया सरकार तयार रहेको जानकारी गराए । मन्त्री भण्डारीले दुवै देश अतिकम विकसित र भू–परिवेष्ठित भएका कारणले दुवै देशका चुनौती र विकासका लक्ष्य समान रहेका जनाउँदै विशेषगरी व्यापार, कृषि, पर्यटन र खानी उद्योगमा दुवै देशको अनुभव आदानप्रदान गर्ने प्रशस्त सम्भावना रहेको बताए । उनले भने, 'नेपालले खानी अन्वेषणलाई प्राथमिकतामा राखेको तथा जाम्बियामा खानी उद्योगको प्रशस्त सम्भावना रहेको र जाम्बियामा यस क्षेत्रमा थप विकास भएका कारणले नेपालले खानी उद्योगमा जाम्बियासित मिलेर सहयोग आदानप्रदान गर्ने सम्भावना रहेको छ, यसका लागि नेपाल सरकार तत्पर छ ।'



