सरकारले कार्यालय समयमै अनलाइन मार्फत शेयर कारोबार गर्ने गरेको भन्दै देशभरका सरकारी कार्यालयहरुमा ट्रेड म्यानेजमेन्ट सिस्टम (टिएमएस)मा प्रतिबन्ध लगाएको छ । तर, यसअघि सरकारी कर्मचारीले टिएमएसबाट शेयर काराेबार गर्न थालेपछि शेयर कारोबार गर्नेको संख्या अत्यधिक रुपमा बढ्दै गएको थियाे।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार गत साउनमात्रै ७२ हजार ९४० जना टिएमएसमा जोडिएका छन् । योसँगै साउन मसान्तसम्म टिएमएस प्रयोगकर्ता २३ लाख ३१ हजार ३५० छ ।
टिएमएस चलाउने धेरैले साप्ताहिक वा मासिकरुपमा चलाउँछन् । जबकि दैनिकरुपमा टिएमएस चलाउनको संख्या भने ५० हजार भन्दा धेरै छ ।
त्यस्तै शेयर कारोबारको लागि प्रयोग गरिने डिम्याट खाताको संख्या ६३ लाख ८५ हजार ३०६ पुगेको छ ।
टिएमएस सेवा कसरी लिने ?
आइपिओ बेच्नदेखि दोस्रो बजारमा सूचीकृत कम्पनीका शेयर कारोबार गर्न टिएमएसमा सूचीकृत जरुरी हुन्छ । टिएमएस आउनुअघि लगानीकर्ता शेयर खरीदविक्रीका लागि ब्रोकर कार्यालयमै पुग्नु पर्दथ्याे । तर टिएमएस जडानपछि लगानीकर्ताले इन्टरनेट भएका जुनसुकै ठाउँबाट पनि सहजै शेयर कारोबार गर्न पाउँछन् । त्यसैले यो प्रविधिप्रति सर्वसाधारणको रुची बढेको छ ।





