काठमाडौँ — सरकारले आन्तरिक राजस्व परिचालन रणनीति, २०८१ जारी गरेको छ । आर्थिक वर्ष २०८१/८२ देखि आर्थिक वर्ष २०८५/८६ सम्मका लागि मध्यमकालीन राजस्व परिचालन रणनीति जारी भएको हो ।
राजस्व परिचालन रणनीति मुलुकको कर प्रणाली र प्रशासन सुधारका लागि १६औँ आवधिक योजनासँग समन्वय हुनेगरी तयार पारिएको अर्थ मन्त्रालयले जनाएको छ । यो रणनीतिले अर्थ–सामाजिक विकासका लागि आवश्यक राजस्व परिचालन र निजी क्षेत्र तथा करदाताको आकाङ्क्षाबीच सन्तुलन कायम गर्ने विश्वास सरकारको छ ।
आन्तरिक राजस्व परिचालन रणनीतिले देशको कर नीति र प्रशासनमा सुधारका लागि स्पष्ट संरचनागत रूपरेखा प्रस्तुत गरेको अर्थ मन्त्रालयले जनाएको छ । यो रणनीतिको मुख्य उद्देश्य आर्थिक दक्षता र समानतालाई प्रवर्द्धन गर्दै निजी क्षेत्रको लगानीलाई प्रोत्साहन गर्नुका साथै कर र गैरकर राजस्वको स्थिर प्रवाह सुनिश्चित रहेको रणनीतिमा उल्लेख छ । सरकारको कोषमा स्थायित्व कायम राख्दै बजेट घाटालाई व्यवस्थापन गर्न पनि योगदान पुर्याउने अपेक्षा रणनीतिमार्फत गरिएको छ ।


