काठमाडौं । धितोपत्रको दोस्रो बजारमा हुने उतारचढावमा स्थिरता ल्याई अनावश्यक उतारचढावको असरबाट साधारण लगानीकर्तालाई बचाउन संस्थागत लगानीकर्ताको उपस्थिति अनिवार्य मानिन्छ ।
एक दशक अघिसम्म सीमित संस्थागत लगानीकर्ता रहेको धितोपत्र बजारमा अहिले ८ हजार ७५४ संस्थागत लगानीकर्ता सूचीकृत रहेको नेपाल स्टक एक्सचेन्जका प्रवक्ता मुराहरि पराजुलीले जानकारी दिए । ‘धितोपत्रको दोस्रो बजारमा कारोबार गर्न १ महीनामा ३०० संस्थागत लगानीकर्ता थपिएका छन्,’उनले भने ।
तर, सबै योग्य संस्थागत लगानीकर्ता होइनन् । नेपाल धितोपत्र बोर्डले हालसम्म १५० कम्पनीलाई योग्य संस्थागत लगानीकर्ताको अनुमतिपत्र दिएको छ । योग्य संस्थागत लगानीकर्ता हुन धितोपत्र व्यापारी हुनुपर्ने र धितोपत्रमा लगानी गर्ने उद्देश्यले स्थापित हुनुपर्ने धितोपत्र बोर्डको मार्गदर्शनमा उल्लेख छ ।
२०७७ माघ १९ गतेसम्म ४६ योग्य संस्थागत लगानीकर्ता थिए । २०७७ माघ २० गते थप १८ ओटा कम्पनीले योग्य संस्थागत लगानीकर्ताको अनुमतिपत्र पाए । त्यसपछि विभिन्न समयमा गरेर १५० कम्पनीले संस्थागत लगानीकर्ताको अनुमतिपत्र पाएको बोर्डले बताएको छ । विभिन्न मर्चेन्ट बैंकर र तिनीहरू व्यवस्थापक रहेका म्युचुअल फन्ड, लगानी कम्पनी र बीमा कम्पनीहरू शेयरबजारमा योग्य संस्थागत लगानीकर्ताको रूपमा रहेका छन् ।





