आर्थिक समृद्धि र स्थायित्वको खोजीमा धेरैजसो मानिसहरू वास्तुशास्त्रका उपायहरूलाई ध्यान दिन थालेका छन्। वास्तुशास्त्रमा घरमा सकारात्मक र नकारात्मक ऊर्जाले वित्तीय स्थितिमा असर पार्न सक्ने विश्वास गरिन्छ। विशेषज्ञहरूका अनुसार, घरमा सही वस्तुहरूको प्रयोगले नकारात्मक ऊर्जालाई हटाउन र आर्थिक उन्नतिको मार्ग प्रशस्त गर्न मद्दत पुर्याउँछ। केही प्रमुख उपायहरू, जसले घरमा आर्थिक समृद्धि ल्याउन सक्ने मान्यता छ।
बासुरी
वास्तुशास्त्रअनुसार बासुरीलाई बास्तु दोष हटाउन महत्वपूर्ण मानिन्छ। वित्तीय समस्याबाट मुक्ति पाउनका लागि घरमा चाँदी वा सुनको बासुरी राख्न सल्लाह दिइन्छ। यसले नकारात्मक ऊर्जालाई हटाएर सकारात्मक आर्थिक ऊर्जा प्रवाह गर्ने विश्वास छ। बाँसको बासुरी पनि प्रभावकारी मानिन्छ र यसले घरमा धन वृद्धि गराउने बताइन्छ।
नृत्य गरिरहेको गणेशको मूर्ति:
भगवान गणेशलाई सम्पत्ति र समृद्धिका देवता मानिन्छ। विशेष गरी नृत्य गरिरहेको गणेशको मूर्ति घरमा राख्दा व्यापार र आर्थिक स्थायित्वमा वृद्धि हुने मान्यता छ। यस्तो मूर्ति मुख्य द्वारमा राख्नाले घरमा धन आगमनको मार्ग खुल्ने विश्वास गरिन्छ।
लक्ष्मी र कुबेरको मूर्ति:
धनकी देवी लक्ष्मीको साथमा भगवान कुबेरको मूर्ति वा तस्वीर राख्नाले स्थायी वित्तीय सुरक्षा मिल्ने बताइन्छ। भगवान कुबेरलाई धनका स्वामी मानिन्छन्, र उनी उत्तर दिशाका संरक्षक भएकोले मूर्ति उत्तर दिशामा राख्दा स्थिर आर्थिक लाभ हुने विश्वास गरिएको छ।
शंख
वास्तुशास्त्रमा शंखलाई वित्तीय नकारात्मकता हटाउने शक्तिशाली माध्यम मानिन्छ। शंखको प्रयोगले घरमा सकारात्मक ऊर्जा र वित्तीय स्थिरता बढाउँछ। शास्त्रअनुसार देवी लक्ष्मीको पूजा स्थलमा शंख राखेर पूजा गर्दा घरमा कहिल्यै धनको अभाव नहुने विश्वास गरिन्छ।
एकाक्षी नरिवल
वित्तीय स्थिरता र आर्थिक वृद्धिका लागि एकाक्षी नरिवललाई शुभ मानिन्छ। एकाक्षी नरिवल भनेको एउटा विशेष प्रकारको नरिवल हो, जसमा केवल एकवटा आँखाको जस्तो धब्बा हुन्छ। यसलाई वास्तुशास्त्रमा धेरै शुभ मानिन्छ। यसलाई देवी लक्ष्मीको प्रतीकको रूपमा लिइन्छ, र घरमा एकाक्षी नरिवल राखेर पूजा गर्दा धनसम्बन्धी समस्याहरू टाढा हुने र आर्थिक सम्पन्नता आउने विश्वास गरिन्छ।
वास्तुशास्त्रका यी उपायहरूले नकारात्मक वित्तीय समस्याहरूलाई हटाएर आर्थिक उन्नति ल्याउने बताइन्छ। विशेषज्ञहरूले सल्लाह दिएका यी वस्तुहरूलाई सही दिशामा र सही तरिकाले राखेर आर्थिक समृद्धि हासिल गर्न सकिन्छ भन्ने मान्यता रहेको छ।



