नेपालमा परिकल्पना गरिएको स्वास्थ्य बीमा कार्यक्रम सामाजिक स्वास्थ्य बीमा प्रणाली हो। तर, व्यवहारमा नेपालको स्वास्थ्य बीमा सामाजिक स्वास्थ्य बीमा कार्यक्रम हुनसकेको छैन र यसका लागि हालको अवस्थामा निकै ठूलो सुधार गर्नुपर्ने देखिन्छ।
विश्व स्वास्थ्य संगठनको हालको विधानले हरेक देशका जनताले आफ्नो सरकार वा राज्यबाट उच्चस्तरको मानसिक र शारीरिक स्वास्थ्य सेवा प्राप्त गर्नु उनीहरूको अधिकार हो भन्ने कुरा उल्लेख गरेको छ। त्यसरी नै नेपालको संविधान २०७२ को मौलिक हकको धारा ३५ ‘स्वास्थ्य सम्बन्धी हक’ मा उल्लेख गरिएको छ– ‘प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन।’



