पेट्रोलमा इथानोल मिश्रण गर्न सके विदेशबाट आयात हुने करिब साढे १२ अर्ब रूपैयाँको पेट्रोल आयात घटाउन सकिने देखिएको छ। नेपाल आयल निगमको अध्ययनमा पेट्रोलमा इथानोल मिश्रण गरेर बिक्री गरे मुलुकमा दैनिक चार लाख लिटर पेट्रोल खपत घट्छ।
यसरी हेर्दा एक वर्षमा १४ करोड ४० लाख लिटर पेट्रोलको आयात कम गर्न सकिन्छ। नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट पेट्रोल आयात गरेर बिक्री गर्दै आएको छ।
निगमले प्रतिलिटर पेट्रोल खरिद गर्न आइओसीलाई करिब ८५ रूपैयाँ भुक्तानी गर्छ। पेट्रोलमा इथानोल मिश्रण गर्न सके वार्षिक १४ करोड ४० लाख लिटर पेट्रोल आयात घट्छ। पेट्रोलको खरिद मूल्यलाई आधार मान्दा यो करिब १२ अर्ब ४१ करोड रूपैयाँ हुन्छ।


