हिन्दू धर्म र वास्तु शास्त्रका अनुसार घर वा कार्यालयमा कछुवा राख्नुलाई अत्यन्तै शुभ मानिन्छ। कछुवा राख्नाले घरमा खुशी, समृद्धि र सकारात्मक ऊर्जा प्रवाह हुन्छ भन्ने विश्वास गरिन्छ। भगवान विष्णुको एक रूप कछुवा भएको धार्मिक मान्यता छ, जसले समुद्र मंथनको समयमा मन्दार पर्वतलाई आफ्नो कवचमा उठाएर देवता र असुरहरूलाई सहयोग गरेका थिए। त्यसैले जहाँ कछुवा हुन्छ, त्यहाँ लक्ष्मीको आगमन हुन्छ भन्ने मान्यता छ। यस्तै, चिनियाँ वास्तुशास्त्र फेंग शुई (Feng shui) मा पनि कछुवा राख्नु सकारात्मक ऊर्जा र सुरक्षाको प्रतीक मानिन्छ।
आर्थिक दृष्टिकोणले हेर्दा, घर वा कार्यालयमा कछुवा राख्नाले वित्तीय स्थिरता, समृद्धि र व्यापारिक सफलता आउने विश्वास गरिन्छ। वास्तु शास्त्रअनुसार उत्तर दिशामा कछुवा राख्नाले धन वृद्धि हुन्छ भने शत्रुहरूको नाश हुन्छ। कार्यालयको मुख्य प्रवेशद्वारमा कछुवाको तस्वीर राख्दा व्यवसायमा प्रगति हुने र समस्या टाढा हुने मान्यता छ। फेंगशुईमा पनि क्यारियर र व्यापारमा उन्नति गर्न उत्तर दिशामा कालो कछुवा राख्न सुझाव दिइन्छ।
जसले आर्थिक समस्या भोगिरहेका छन्, तिनीहरूले घरमा क्रिस्टलको कछुवा राख्दा धन सम्बन्धी समस्या समाधान हुने विश्वास गरिन्छ। यसले परिवारको स्वास्थ्य सुधारमा पनि सहयोग पुर्याउँछ, जसले आर्थिक क्षेत्रमा स्थिरता ल्याउँछ। यसरी कछुवा राख्नुले जीवनमा निरन्तर ऊर्जा प्रवाहको सन्तुलन राख्न मद्दत मिल्ने र आर्थिक उतार-चढाव कम हुने विश्वास गरिन्छ।।



