सिडिएससीको ४९ प्रतिशत शेयर सरकारको नाममा गर्न नेप्सेलाई लेख्यो अर्थ मन्त्रालयले पत्र


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
सिडिएससीको ४९ प्रतिशत शेयर सरकारको नाममा गर्न नेप्सेलाई लेख्यो अर्थ मन्त्रालयले पत्र

सुवास निरौला

अहिलेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) को सहायक कम्पनीको रुपमा रहँदै आएको केन्द्रीय निक्षेप प्रणाली (सिडिएससी)को ४९ प्रतिशत शेयर सरकारले आफ्नो नाममा गर्न निर्देशन दिएको छ।

अर्थ मन्त्रालयले नेप्सेलाई सो निर्देशन दिएको हो। सोही निर्देशन बमोजिम शेयर संरचना परिवर्तन गर्न अहिले सिडिएससीको प्रबन्ध पत्र नियमावली परिवर्तन गर्न लागिएको छ। आउने केही समयमा सिडिएससीको ४९ प्रतिशत शेयर अर्थ मन्त्रालयको नाममा कायम हुने छ।

पहिलेदेखि नै सिडिएससीको शेयर संरचना परिवर्तन गर्नु पर्ने भन्ने विषय उठ्दै आएको थियो। यस अघि दुई पटकसम्म शेयर संरचना परिवर्तन गर्न भन्दै कार्यदल समेत बनाइएको थियो। उक्त कार्यदलले सिडिएससीको पूँजी वृद्धि गर्नु पर्ने र सिडिएससीको शेयर निष्कासन गर्दै नयाँ लगानीकर्ता भित्र्याउनु पर्ने सुझाव दिएको थियो। दुवै पटक गठन भएको कार्यदलले सोही सुझाव दिएको थियो। तर उक्त सुझाव भने अर्थ मन्त्रालयले कार्यान्वयनमा लगेको छैन। बरु सिडिएससीको ४९ प्रतिशत शेयर नेपाल सरकारको हुनु पर्ने भन्दै अर्थ मन्त्रालयले निर्णय गर्‍यो।

खासगरि सिडिएससीको सुरुवात भारत सरकारको प्राविधिक सहयोगमा  भएको हो। जसमा १४ करोड ७२ लाख रुपैयाँ बराबरको प्राविधिक सहयोग भारत सरकारको छ। त्यसका अतिरिक्त नेप्सेको सिडिएससीमा १५ करोड २८ लाख रुपैयाँ लगानी छ। यस अघि नेप्सेले भने भारत सरकारले दिएको लगानी समेत आफ्नै भन्दै आएको थियो। जसकारण अहिलेसम्म सिडिएससीले दिने लाभांश समेत नेप्सेले नै लिँदै आएको थियो।

Read More