काठमाडौं : प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले बैंकिङ कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० को प्रतिवेदन पारित गरेको छ । सिंहदरबारमा सोमबार बसेको समिति बैठकले उक्त विधेयकलाई संशोधन सहित पारित गरेको हो ।
२०८० साउन २३ गतेको मन्त्रिपरिषद् बैठकले बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक, २०८० को मस्यौदा स्वीकृत गरेको थियो भने तत्कालीन अर्थमन्त्री अर्थमन्त्री डा. प्रकाशशरण महतले २०८० असोज १६ गते यो विधेयक सदनमा दर्ता गरेका थिए।
चेक अनादरसम्बन्धी मुद्दामा फरक–फरक खालको कानुनी उपचारको अवस्था देखिएकाले यसलाई एकरुप बनाउनका लागि सरकारले विधेयक ल्याएको हो । विधेयक पारित भएसँगै सभामुख देवराज घिमिरेलाई बुझाउने र छिटो सदनमा पेश गर्न आग्रह गरिने समिति सभापति सन्तोष चालिसेले बताए । विधेयकमा १० करोड भन्दाको चेक अनादरका घटनामा दुई वर्षदेखि चार वर्षसम्मको सजाय थप गर्ने बुँदा थप गरिएको उनले जानकारी दिए।



