२३ भदौ, काठमाडौं । सिंहदरबारभित्रका कर्मचारी कार्यालय समयमा सेयर कारोबारमा व्यस्त भएपछि सेवामा अवरोध भएको भन्दै केही दिनअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा एउटा उजुरी पर्यो ।
सोही उजुरीपछि अख्तियारको टिमले सिंहदरबारमा छड्के अनुसन्धान गर्यो । सो क्रममा उजुरीअनुरुप विभिन्न मन्त्रालयका केही कर्मचारीले सेयर कारोबार गर्ने गरेको पाइयो । ‘कार्यालय समयमै सरकारी स्रोत, साधनलाई व्यक्तिगत प्रयोजनमा खर्चिएको पाइयो’ अख्तियार स्रोतले भन्यो ‘सिंहदरबारभित्र त्यसरी कारोबार हुँदा सेवामा असर पारेकाले प्रधानमन्त्री कार्यालयलाई सिंहदरबारभित्र कर्मचारीलाई सेयर कारोबारमा निरुत्साहन गर्न भनेर पत्र पठाएका छौं ।’





