सिन्धुपाल्चोक : देशकै पहिलो साक्षर जिल्ला सिन्धुपाल्चोकमा साक्षरता दर घट्दो क्रममा रहेको छ। राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कअनुसार सिन्धुपाल्चोकको साक्षरता दर ६८ प्रतिशत मात्रै छ।५ वर्ष वा सोभन्दा माथिका कुल २ लाख ४३ हजार ७ सय ५५ जनसंख्यामध्ये ३१ दशमलव ६ प्रतिशत जनसंख्या निरक्षर छन्। ४७ हजार ९ सय ७३ महिला र २९ हजार १ सय ६१ पुरुष गरी कुल ७७ हजार १ सय ३४ जना नागरिकहरू पढ्न र लेख्न नजान्ने जनगणनाको तथ्यांकले देखाएको छ। पढ्न र लेख्न दुवै जानेको संख्या ६८ प्रतिशत अर्थात १ लाख ६५ हजार ८ सय ५४ मात्रै रहेको तथ्यांकमा उल्लेख छ। जसमध्ये महिलाको संख्या ७६ हजार १ सय ३ रहेको छ भने पुरुषको संख्या ८९ हजार ७ सय ५१ रहेको छ। कुल जनसंख्याको शून्य दशलमव तीन प्रतिशत अर्थात् ७ सय ६७ जना सामान्य पढ्न मात्रै सक्छन्।



