काठमाण्डौ, नेपाल – कुमारी बैंक लिमिटेड र काठमाण्डौ नेत्रालय सुपर इसपेसियालिटी आइ केयर सेन्टर प्रा.लि., गोल्फुटारबीच एक नयाँ सम्झौता भएको छ जसअन्तर्गत कुमारी बैंकका ग्राहकहरूले नेत्रालयबाट प्रदान गरिने सेवामा विशेष छुट पाउनेछन्।
सम्झौताअनुसार, कुमारी बैंकका ग्राहकहरूले काठमाण्डौ नेत्रालय सुपर इसपेसियालिटी आइ केयर सेन्टरमा चिकित्सक परामर्श, जाँच, अनुसन्धान, र शल्यक्रियामा बैंकको डेबिट वा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ सेवा प्रयोग गरी भुक्तानी गर्दा १०% छुट प्राप्त गर्न सक्नेछन्। बैंकका अधिकारीहरूले यस छुटबाट ग्राहकहरूले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै थप लाभ प्राप्त गर्ने अपेक्षा गरेका छन्।
कुमारी बैंकले विगत २३ वर्षदेखि देशभर आफ्ना ३०२ शाखा, ३१८ एटिएम, ५० एक्सटेन्सन काउन्टर, र ५७ शाखारहित बैंकिङ इकाईमार्फत वित्तीय साक्षरताको प्रवर्द्धन गर्दै आधुनिक तथा प्रभावकारी सेवा प्रदान गर्दै आइरहेको छ। बैंकले आगामी दिनहरूमा पनि अझ सरल, सुलभ, र उत्कृष्ट सेवाका लागि नयाँ सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ।





