औपचारिक व्यापार गर्ने व्यवसायीहरूले सरकारसँग अवैध व्यापार रोक्न माग गरेका छन्। उनीहरूले अवैध कारोबार नरोकिए वैध व्यापार सञ्चालन गर्न कठिन हुने चेतावनी दिएका छन्।
यसै क्रममा सरकारले पनि राजस्व चुहावट नियन्त्रणका लागि विभिन्न कदमहरू चाल्न सुरू गरेको छ।
लगातार साढे दुई वर्षदेखि आयातमा कमी आएको छ। भन्सार प्रशासनका अधिकारीहरूका अनुसार विगतमा यति लामो समयसम्म निरन्तर आयातमा कमी आएको थिएन।
राजस्वको दायरा र दर विस्तार गर्दा पनि अपेक्षित सुधार देखिएको छैन। व्यवसायीहरूले अवैध व्यापार रोक्न माग गर्नु र आयातमा लगातार गिरावट आउनु संयोग मात्र नभएको अर्थ मन्त्रालयको निचोड छ।
व्यवसायीहरूको भनाइमा अवैध कारोबार गर्नेहरूले चोरी पैठारीमा वृद्धि गरेका छन्। यता मूल्य असमनातको कारण नेपाली उपभोक्ताहरूले सीमापारिको बजारलाई प्राथमिकता दिन थालेका छन्।



