काठमाडौं, १६ भदौ – राजधानीको भृकुटीमण्डपमा ११ भदौदेखि सञ्चालनमा आएको ‘नाडा अटो शो २०२४’ आइतबार सम्पन्न भएको छ। यो शोको १६औं संस्करणमा ८२ हजार ४७० दर्शकले सहभागिता जनाएका थिए।
आयोजक नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अनुसार शोमा नयाँ ब्रान्डका विद्युतीय सवारीसाधन (ईभी)हरूको उच्च सहभागिताका कारण भीड धेरै आकर्षित भएको थियो। आर्थिक मन्दीका बाबजुद पनि अटो शोले नेपालको अर्थतन्त्रलाई गति दिन महत्त्वपूर्ण भूमिका खेलेको बताइएको छ। यस वर्ष शोको मुख्य प्रायोजक टाटा डट ईभी थियो।
शोमा सहभागी कम्पनीहरूले आफ्नो स्टल निर्माणमा विशेष मिहिनेत गरेको पाइएको छ। उत्कृष्ट चार पाङ्ग्रे सवारीसाधनको स्टलतर्फ सीजी मोटर्स प्रालिको रीडराले पुरस्कार जित्यो भने उत्कृष्ट दुई पाङ्ग्रे सवारीको स्टलतर्फ बैद्य इनर्जी प्रालिको एथेरले पुरस्कार प्राप्त गर्यो।
यसैगरी, लाइट कमर्सियल भेहिकलको उत्कृष्ट स्टल अवार्ड एमएडब्लु प्रालिको सोकोनले प्राप्त गर्यो। बेस्ट कम्पोनेन्टको पुरस्कार सत्यदीप इन्टरनेसनल प्रालिको भिडोलले जितेको छ।
समापन समारोहमा नाडा अध्यक्ष करण चौधरीले शो सफल बनाउन मद्दत पुर्याउने सबै सरोकारवाला कम्पनीहरू र संस्थाहरूलाई धन्यवाद ज्ञापन गरे।



