काठमाडौँ — चालु आर्थिक वर्षका लागि वितरणमुखी बजेट र खुकुलो मौद्रिक नीति कार्यान्वयनमा आएको डेढ महिना भइसक्दा पनि बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाहमा अपेक्षित सुधार देखिएको छैन । यही कारण गत बिहीबार (भदौ १३) सम्म बैंक तथा वित्तीय संस्थामा करिब सवा सात खर्ब रुपैयाँ ऋण दिन मिल्ने रकम थुप्रिएको छ । गत असार मसान्तमा बैंकहरूसँग यस्तो रकम करिब ८ खर्ब थियो ।
बैंकहरूमा ऋण दिन मिल्ने रकम थुप्रिरहेको, ब्याजदर एकल अंकमा झरेकोलगायत कारण नयाँ आर्थिक वर्षको सुरुवातसँगै कर्जा प्रवाहमा सुधार आउने अपेक्षा गरिएको थियो । तर अपेक्षा गरिएअनुसार कर्जा माग बढ्न नसकेको बैंकहरू बताउँछन् । यस वर्षको दसैं, तिहार, छठलगायत चाडको समयमा बढ्ने मागलाई ध्यान दिएर व्यापारीहरूले अहिलेसम्म आयात सामग्रीको गरिसक्नुपर्ने हो । तर अहिले बैंकहरूको कर्जामा खासै सुधार नदेखिएको उनीहरूको भनाइ छ ।


