काठमाडौं । बुटवल–गोरखपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनअन्तर्गत भारततर्फको ९८ किलोमीटर प्रसारण लाइनको काम तीव्र गतिमा भइरहेको नेपाल विद्युत् प्राधिकरणले बताएको छ ।
नेपालतर्फको १८ किलोमीटर प्रसारण लाइनको काम भने बल्ल शुरू हुने तरखरमा छ । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को सहयोगमा बन्ने नेपालतर्फको १८ किलोमीटर अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्न भदौ १४ गते निर्माण व्यवसायीसँग सम्झौता भएको छ ।
एमसीसी कम्प्याक्ट कार्यक्रमअन्तर्गत निर्माण गरिने नेपाल खण्डको काम २१ महीनामा सक्नुपर्ने शर्त रहेको मिलेनियम च्यालेन्ज एकाउन्ट्स (एमसीए–नेपाल) ले जानकारी दिएको छ । एमसीए नेपाल एमसीसी कम्प्याक्ट कार्यक्रम कार्यान्वयन गर्न खडा गरिएको विशेष संस्था हो । यसअन्तर्गत ३१५ किलोमीटर लामो ४०० केभी क्षमताको विद्युत् प्रसारण लाइन र पूर्व–पश्चिम राजमार्गको केही भागको स्तरोन्नति हुनेछ । भारततर्फको काम भने तीव्र गतिमा भएको प्राधिकरणका अधिकारीहरू बताउँछन् । भारतमा दर्ता भएको प्राधिकरण र पावर ग्रीड कर्पोरेशनअन्तर्गतको संयुक्त उपक्रमले भारत खण्डको प्रसारण लाइन निर्माण गरिरहेको छ ।



