विद्युतीय सवारी साधनको बढ्दो उपस्थिति: दीर्घकालीन आर्थिक र पर्यावरणीय लाभको संकेत - उपेन्द्र पौड्याल


  • Himalayan Bank Limited (HBL)
विद्युतीय सवारी साधनको बढ्दो उपस्थिति: दीर्घकालीन आर्थिक र पर्यावरणीय लाभको संकेत - उपेन्द्र पौड्याल

काठमाडौँ । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) का अध्यक्ष उपेन्द्र पौड्यालले मुलुकमा विद्युतीय सवारी साधन (ईभी) को वृद्धि मुलुकको भविष्यका लागि अत्यन्त लाभदायक भएको बताएका छन्। इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान) ले आइतबार आयोजना गरेको ‘मौद्रिक नीतिको कार्यदिशा, कर्जा विस्तार र अटो व्यवसाय’ विषयक अन्तक्र्रिया कार्यक्रममा बोल्दै उनले आफ्नो धारणा व्यक्त गरेका हुन्।

पौड्यालका अनुसार, "ईभीको प्रयोगमा भएको वृद्धिले हाल राजस्वमा केही कमी ल्याएको भए पनि दीर्घकालमा पेट्रोलियम पदार्थको आयातमा कमी आउने सम्भावना छ।" उनले विद्युतीय सवारी साधनको बढ्दो प्रयोगले संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्यलाई समर्थन गर्ने र देशको उपभोक्ता प्रवृत्तिमा देखिएको परिवर्तनलाई सकारात्मक संकेत मान्नुपर्नेमा जोड दिए।

ईभीहरूको प्रयोगले वातावरणीय र आर्थिक क्षेत्रमा सकारात्मक प्रभाव पार्ने विश्वास गर्दै, पौड्यालले ईभी आयातकर्ताहरुलाई सवारी साधनको गुणस्तरमा विशेष ध्यान दिन आग्रह गरे। "उच्च गुणस्तरका ईभीहरूले बैंकहरुलाई १०–१५ वर्षको अवधिमा कर्जा प्रवाह गर्न सहजता ल्याउँछन्," उनले भने। यसले बैंकिङ क्षेत्रलाई दीर्घकालीन लाभ पुर्याउने र आर्थिक वृद्धिमा योगदान पुर्याउने उनको भनाइ छ।