बैंकिङ कसुर तथा सजाय सम्बन्धि विधेयक (दोस्रो संशोधन), २०८० मा आर्थिक अपराधमा जेल हाल्ने भन्दा ‘आर्थिक सजाय’ को व्यवस्था गर्नुपर्नेमा सांसदहरुले जोड दिएका छन् । आईतवार प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयकमाथिको छलफलमा बोल्दै अधिकांश सांसदहरुले यस्तो प्रश्ताव गरेका हुन् ।
सांसदहरुले बैंकिङ कसुर तथा सजाय ऐनमा आर्थिक अपराधमा जेल सजाय तोक्ने व्यवस्थालाई पुनःविचार गर्नुपर्ने बताए । उनीहरुले चेक अनादरको विषयमा बैंकहरुलाई पनि जिम्मेवार बनाउने गरी ऐन ल्याउन आवश्यक रहेको बताए । सांसदहरुले बैंकिङ कसुर ऐनलाई ब्याज, मिटरब्याज र चेक अनादरको कारण भएका समस्याहरु समाधान हुने बाटोमा गएको अनुभुति गर्ने तहबाट कानून पास गर्नुपर्नेमा जोड दिए ।
समिति बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोविता गौतमले आर्थिक अपराधमा जेल होइन ‘आर्थिक सजाय’ नै गर्नुपर्ने बताइन । उनले आर्थिक अपराध गर्दा कुनैपनि मानिसलाई जेल हाल्ने नभइ आर्थिक सजायको व्यवस्था गर्नु उपयुक्त हुने उल्लेख गरिन ।
सांसद गाैतमले चेक अनादरको मुद्दामा पनि चेक व्यावसायिक वा व्यक्तिगत कस्तो किसिमको हो रु सो को वर्गिकरण गर्न आवश्यक रहेको बताइन । उनले आर्थिक अपराधका विषयमा अहिले तीन महिनाभित्र जाहेरी दिनसक्ने भनिए पनि यसलाई एक वर्षभित्र जाहेरी दिनसक्ने व्यवस्था गर्नुपर्नेमा जोड दिइन ।



