काठमाडौँ — स्वदेशी लगानी जस्तै नेपाल भित्रिएको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) पनि उद्योग क्षेत्रमा घट्दै गएको र सेवा क्षेत्रमा बढ्न थालेको सरकारी प्रतिवेदनले देखाएको छ । राष्ट्र बैंकको ‘प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन ०७९/८०’ ले कुल एफडीआईमध्ये उद्योग क्षेत्रमा रहेको हिस्सा घटेको र सेवा क्षेत्रको बढेको देखाएको हो ।
अघिल्लो आर्थिक वर्षमा कुल एफडीआईको ६२.६ प्रतिशत हिस्सा उद्योग क्षेत्रमा लगानी भएकामा आर्थिक वर्ष ०७९/८० मा यस्तो हिस्सा घटेर ५९.७ प्रतिशत कायम भएको प्रतिवेदनले देखाएको छ । तर सेवा क्षेत्रमा भने विदेशी लगानीको हिस्सा बढ्दो छ । यसअनुसार अघिल्लो आर्थिक वर्षमा कुल एफडीआईको ३७.३ प्रतिशत हिस्सा सेवा क्षेत्रमा लगानी भएकामा आर्थिक वर्ष ०७९/८० मा यस्तो हिस्सा बढेर ४०.२ प्रतिशत रहेको प्रतिवेदनले देखाएको छ । तर कृषि क्षेत्रको रहेको विदेशी लगानीको हिस्सामा भने परिवर्तन भएको छैन ।


