काठमाडौं । प्रयोगकर्तालाई छोटो अवधिको भिडियो निर्माण र शेयर गर्ने सुविधा दिइरहेको सामाजिक सञ्जाल टिकटकमाथिको प्रतिबन्ध हटाउन सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयले मन्त्रिपरिषद्मा सिफारिश गरेको मन्त्रालय स्रोतले जानकारी दिएको छ ।
पूर्ववर्ती पुष्पकमल दाहाल नेतृत्वको सरकारले २०८० कात्तिक २७ गते टिकटकमाथि प्रतिबन्ध लगाएको थियो । उक्त बन्देज हटाउने विषयमा केही समयदेखि छलफल गरिरहेको सरकारले अब प्रतिबन्ध फुकुवा गर्न लागेको हो ।
सञ्चार तथा सूचनाप्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बुधवार टिकटकमा लगाइएको प्रतिबन्ध हटाउने निर्णय लिइसकेको र मन्त्रीस्तरमा भएको उक्त निर्णयलाई बिहीवार (आज)को क्याबिनेट बैठकमा पेश गर्ने तयारी भएको मन्त्रीनिकट स्रोतले बतायो ।
‘टिकटक प्लेटफर्ममाथिको रोक हटाउन स्वीकृति दिने निर्णयमा सञ्चारमन्त्रीले हस्ताक्षर गरेर क्याबिनेटमा निर्णयका लागि पठाउनुभएको छ,’ स्रोतले भन्यो, ‘आगामी क्याबिनेटले पारित गर्नेछ ।’ बिहीवार मन्त्रिपरिषद् बैठक भएकाले यसबारे निर्णय आउने सम्भावना बलियो रहेको र प्रतिबन्ध हटेलगत्तै देशभर सहज रूपमा उक्त एप चल्ने स्रोतको दाबी छ । मन्त्रिपरिषद्को निर्णयसँगै मन्त्रालयले दूरसञ्चार प्राधिकरणलाई टिकटकमाथिको प्रतिबन्ध हटाउन पत्र लेख्नेछ ।



