अर्थमन्त्रालयले आफ्नो सय दिने कार्यक्रममा उच्चस्तरीय आर्थिक सुधार आयोग गठन गर्ने निर्णयलाई महासंघले सकारात्मक रुपमा स्वागत गरेको छ। महासंघले लामो समयदेखि सुधारका लागि यस्तो आयोगको गठनको माग गर्दै आएको थियो।
महासंघले अर्थतन्त्रसँग सम्बन्धित क्षेत्रहरूबीच समन्वयको अभाव, निजी क्षेत्रको नीति निर्माणमा सीमित पहुँच, र दीर्घकालीन रुपमा दिगो आर्थिक विकास हासिल गर्न आवश्यक पर्ने सुधारका लागि उच्चस्तरीय आयोगको प्रस्ताव सरकारसमक्ष राखेको थियो। महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले आयोग गठनलाई प्राथमिकतामा राखेकामा सरकारले महासंघको प्रस्तावलाई स्वीकारेकोमा आभार व्यक्त गरे।
सय दिनको प्राथमिकतामा आयोग गठनलाई समावेश गरेकोमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र अर्थ मन्त्रालयलाई महासंघले धन्यवाद ज्ञापन गरेको छ। महासंघले आयोगलाई मितव्ययी रुपमा सञ्चालन गर्ने ढाँचा पनि प्रस्ताव गरेको छ।



