काठमाडौँ । रिलायन्स स्पिनिङ मिल आईपीओ प्रकरणको मुद्दा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले तामेलीमा राखेको छ । शुक्रबार धितोपत्र बोर्डलाई पत्र काट्दै सीआईबीले उक्त मुद्दा तामेलीमा राखेको जानकारी दिएको हो ।
बुकबिल्डिङ प्रणालीमार्फत पहिलो पटक आईपीओ जारी गर्न लागेको कम्पनीले कमजोर वित्तीय स्थिति हुँदाहुँदै महँगोमा सेयर बेच्न लागेको भन्दै कम्पनीविरुद्ध सीआईबीमा उजुर परेको थियो । १०० रुपैयाँ अंकित सेयर मूल्यमा थप ७२० रुपैयाँ ८० पैसा प्रिमियम थप गरेर कम्पनीले प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसामा सेयर निष्कासन गर्न लागेको थियो । उक्त मूल्य कसरी निर्धारण गरिएको हो ? र कमजोर वित्तीय स्थिति हुँदाहुँदै किन महँगोमा सेयर निष्कासन गर्न लागिएको हो ? भन्दै सीआईबीले नियामक धितोपत्र बोर्डलाई प्रश्न सोधेको थियो ।



