काठमाडौँ — सात महिनादेखि नेतृत्वविहीन रहेको नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्त प्रक्रिया झनै लम्बिने भएको छ । सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको भन्दै सरकारले नियुक्ति प्रक्रिया अघि नबढाएका बेला अदालतले पेसी तारिख नै माघ ३० सम्म पुर्याएपछि अध्यक्ष नियुक्ति तत्काल नहुने देखिएको हो ।
दैनिकजसो सेयर बजार उच्च अंकले बढिरहेका बेला पुँजी बजारको नियामक निकाय धितोपत्र बोर्ड अध्यक्षविहीन हुँदा बजारमा चलखेल पनि बढेको गुनासो लगानीकर्ताले गरिरहेका छन् । यही बेला अदालतले एकै पटक मुद्दाको पेसी ६ महिनापछिलाई तोकेको हो । गत असार १८ मा न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले धितोपत्र बोर्ड अध्यक्षको नियुक्ति प्रक्रिया रद्द गर्ने निर्णय कार्यान्वयन नगराउनू भनी अल्पकालीन अन्तरिम आदेश जारी गर्यो ।


