काठमाडौँ — चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सरकारले १ खर्ब १५ अर्ब रुपैयाँ आन्तरिक उठाउने भएको छ । सरकारले चालु आर्थिक वर्षमा आन्तरिक ऋणमार्फत ३ खर्ब ३० अर्ब स्रोत जुटाउने लक्ष्य राखेको छ । सोही योजनाबमोजिम मंगलबारसम्म करिब ३० अर्ब आन्तरिक ऋण उठाइसकिएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालय प्रमुख दीर्घराज मैनालीले जानकारी दिए ।
‘हालसम्म ९ र ११ वर्षे अवधिको विकास ऋणपत्र र विभिन्न अवधिका ट्रेजरी बिलमार्फत करिब ३० अर्ब रुपैयाँ आन्तरिक ऋण संकलन भइसकेको छ, बुधबार (साउन ३०) ६ वर्षे विकास ऋणपत्र बिक्री गर्दै छौं,’ उनले भने, ‘११ वर्षे विकास ऋणपत्रको औसत ब्याजदर ५.२८ प्रतिशत कायम भएको छ । जबकि गत वर्ष यस्तो ऋणपत्रको ब्याज ११ प्रतिशत हाराहारीमा थियो ।’


