तौलिहवा (कपिलबस्तु), साउन २९ गते । आर्थिक वर्ष २०८०।०८१ मा करदाता सेवा कार्यालय तौलिहवाद्वारा लक्ष्यको ८६ दशमलव ५० प्रतिशत राजस्व असुली गरेको छ । गत आर्थिक वर्षमा ७१ करोड ६८ लाख १० हजार लक्ष्य रहेकोमा कार्यालयले ६२ करोड ७४ हजार राजस्व असुली गरेको कर अधिकृत भीमप्रसाद सापकोटाले बताउनुभयो ।
कार्यालयको कपिलवस्तु, बुद्धभूमि, बाणगङ्गा नगरपालिका, मायादेवी, यशोधरा र शुद्धोधन गाउँपालिकामा कार्यक्षेत्र रहेको कर अधिकृत सापकोटाले बताउनुभयो । उहाँले लक्ष्यको ९ करोड ६७ लाख ३६ हजार राजस्व असुली हुन नसकेको बताउनुभयो । कोरोनापछि अर्थतन्त्र गतिशील नहुनु, बैङ्कमा ब्याजमाथि ब्याज थपिनु, व्यापारिक गतिविधि न्यून हुनु लगायतका कारणले उद्यमीहरू नियमित राजस्व तिर्ने अवस्थामा नरहेको कर अधिकृत सापकोटाको भनाइ छ ।



