वीरगञ्ज । भन्सारको हरियो लेनको दुरुपयोग गरेर प्रतिबन्धित मालसामान भित्र्याएको विषयलाई सुक्खा बन्दरगाह भन्सार कार्यालयले अझै टुंगोमा पुर्याउन सकेको छैन । ५ वर्षअघि सुक्खा बन्दरगाह भन्सारमा चलेको यो धन्धाको एक वर्षअघि खुलासा भएको थियो ।
भन्सारले वर्षौंदेखि बन्दरगाहमा रोकेर राखिएका कन्टेनर लिलामीको सूचना निकालेपछि यस्तो पोल खुलेको हो । गत मङ्सिरमा तत्कालीन भन्सार प्रमुख रामप्रसाद मैनालीले यस्तो सूचना निकालेका थिए । कन्टेनर खोलेर हेर्दा घोषणाभन्दा फरक र प्रतिबन्धित मालसामान भेटिएको थियो ।
त्यसबेला भन्सार विभागका उच्च अधिकारीहरूसहितको टोली वीरगञ्जमा आएर अनुसन्धान गरेको थियो । भन्सारका कर्मचारीसमेतको मिलेमतोमा प्रतिबन्धित मालसामान भन्सारबाटै भित्र्याइएको भन्दै विभागका अधिकारीहरूले अनुसन्धान अघि बढाएका थिए ।



