आर्थिक शिथिलताको बीच ठूलो कारोबार गर्ने कम्पनीहरूको संख्या बढेको छ।
आन्तरिक राजस्व विभागले हालसालै ठूलो कारोबार गर्ने कम्पनीहरूको सूची अद्यावधिक गरेको हो। जसअनुसार यस्ता कम्पनीहरू ६०१ वटा पुगेका छन्।
सरकारले कर प्रशासनको लागि कर दातालाई तीन भागमा विभाजन गरेको हुन्छ। जसअनुसार वार्षिक एक अर्बभन्दा बढी कर योग्य कारोबार गर्ने कम्पनीलाई ठूला कम्पनीको सूचीमा राखिएको छ। जसको कर प्रशासन ठूला करदाता कार्यालयले गर्छ।
त्यस्तै, वार्षिक ५० करोडभन्दा बढी र एक अर्बभन्दा कमको कारोबार गर्ने कम्पनीलाई मध्यम तहका कम्पनीको रूपमा हेरिएको छ। यस्ता कम्पनीलाई मध्यमस्तरीय करदाता कार्यालयबाट कर प्रशासन गर्ने गरिएको छ।



