काठमाडौं । वाणिज्य बैंकहरूको पूँजीमा लागत घटेपछि ऋणको ब्याजदर सस्तो हुने भएको छ । बैंकहरूले निक्षेपको ब्याजदर घटाउँदै लगेपछि आधारदर (बेसरेट) घटेकाले ऋणीहरूलाई राहत हुने भएको हो ।
बैंकहरूले प्रकाशित अपरिष्कृत वित्तीय विवरणअनुसार २०८१ असारमा वाणिज्य बैंकहरूको औसत आधारदर ८ दशमलव शून्य ९ प्रतिशतमा झरेको छ । २०८० असारमा बैंकहरूको औसत आधारदर १० दशमलव १२ प्रतिशत थियो ।
राष्ट्र बैंकको आधारदर निर्धारणसम्बन्धी कार्यविधिअनुसार बैंक तथा वित्तीय संस्थाहरूले आफ्नो लागतमा शून्य दशमलव ७५ प्रतिशत प्रतिफल जोडेर आधारदर निर्धारण गर्छन् ।



