नेपालको जीवन बीमा बजारमा ४ वटा बीमा कम्पनीले ६० प्रतिशत बजार हिस्सा ओगटेको देखिएको छ ।
नेपाल बीमा प्राधिरकणले सार्वजनिक गरेको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा १४ वटा जीवन बीमा कम्पनी र ३ वटा लघु जीवन बीमा कम्पनीले कुल १ खर्ब ५६ अर्ब ५० करोड रुपैयाँ प्रिमियम संकलन गरेका छन् । त्यसमध्ये ६० दशमलब ५६ प्रतिशत प्रिमियम संकलन ४ वटा ठूला लाइफ इन्स्योरेन्स कम्पनीले मात्रै गरेका छन् ।
तथ्यांक अनुसार नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सबैभन्दा धेरै गत आवमा ४० अर्ब ८५ करोड ५ लाख रुपैयाँ कुल प्रिमियम संकलन गरेकाे छ जुन कुल प्रिमियमको २६ दशमलब १० प्रतिशत हुन आउँछ । त्यस्तै दोस्रो धेरै प्रिमियम गर्ने बीमा कम्पनीमा नेसनल लाइफ इन्स्योरेन्स परेको छ । कम्पनीले १९ अर्ब २० करोड ३५ लाख रुपैयाँ प्रिमियम संकलन गरेका छ जुन कुल प्रिमियमको १२ दशमलब २७ प्रतिशत हुन आउँछ । त्यस्तै तेस्रो धेरै प्रिमियम संकलन लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल)ले गरेकाे छ । कम्पनीले १८ अर्ब १० करोड रुपैयाँ संकलन गरेका छन् जुन कुल प्रिमियमको ११ दशमलब ५७ प्रतिशत हुन आउँछ । त्यस्तै चौथो धेरै बीमा प्रिमियम संकलन गर्ने हिमालयन लाइफ इन्स्योरेन्सले १६ अर्ब ६० करोड ८० लाख रुपैयाँ संकलन गरेकाे छ जुन कुल प्रिमियमको १० दशमलब ६१ प्रतिशत हो । ४ वटा बीमा कम्पनीले कुल बीमा प्रिमियम संकलनको ६० प्रतिशत रकम संकलन गर्दा बाँकी १० वटा जीवन बीमा र ३ वटा लघु जीवन बीमाले ४० प्रतिशत बीमा संकलन गरेको तथ्यांकले देखाएको छ । गत आवको तथ्यांक अनुसार सबैभन्दा कम बीमा प्रिमियम संकलन गर्ने कम्पनीमा सन नेपाल लाइफ देखिएको छ ।
तुलनात्मक रुपमा नयाँ बीमा कम्पनीहरुको बीमा प्रिमियम कम देखिएको हो । सन नेपाल लाइफले ३ अर्ब ८८ करोड रुपैयाँ प्रिमियम संकलन गर्दा रिलायवल नेपाल लाइफले ४ अर्ब २० करोड रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले ४ अर्ब ३७ करोड रुपैयाँ र आईएमई लाइफले ४ अर्ब ७४ करोड रुपैयाँ बीमा प्रिमियम संकलन गरेका छन् । मेट लाइफ, सानिमा रिलायन्स लाइफ र सिटिजन लाइफ प्रत्येकले कुल प्रिमियमको ३ प्रतिशतभन्दा बढी प्रिमियम संकलन गरेका छन् । एसियन लाइफले ५.१५ प्रतिशत, राष्ट्रिय जीवन बीमा कम्पनीले ५.५७ प्रतिशत र सूर्य ज्योति लाइफले ६ दशमलब शून्य ७ प्रतिशतले बीमा शुल्क संकलन गरेकाे छ ।



