काठमाडौ । गत आर्थिक वर्ष (आव) २०८०/८१ मा जीवन बीमा कम्पनीहरूको व्यवसाय करीब १० प्रतिशतले बढेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार सो वर्ष जीवन बीमा कम्पनीहरूले १ करोड ३७ लाख ७४ हजार बीमालेख विक्री/नवीकरणबाट १ खर्ब ५६ अर्ब ३३ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । अघिल्लो वर्षको तुलनामा बीमाशुल्क ९ दशमलव ८२ प्रतिशतले बढी हो । आव २०७९/८० मा उनीहरूले १ करोड ४१ लाख ३७ हजार बीमालेख विक्री/नवीकरणबाट १ खर्ब ४२ अर्ब ३५ करोड रुपैयाँ बीमाशुल्क उठाएका थिए ।
कम्पनीहरूको व्यवसाय विस्तारमा बीमालेख नवीकरणको अंश उल्लेख्य छ । गत आवमा उनीहरूले १ खर्ब २१ अर्ब बीमाशुल्क बीमालेख नवीकरणबाट मात्र उठाएका छन् । उनीहरूको पहिलो बीमाशुल्क संकलन भने ३४ अर्ब ३४ करोड छ । अघिल्लो वर्ष उनीहरूले १ खर्ब ११ अर्ब बीमालेख नवीकरणबाट र पहिलो बीमाशुल्क ३१ अर्ब २३ करोड रुपैयाँ उठाएका थिए ।



