२२ फागुन, काठमाडौं । सरकारले अपराध अनुसन्धान गर्ने निकायहरुलाई हरेक आपराधका घटनालाई आर्थिक लाभहानी र सम्पत्ति शुद्धीकरणका कोणबाट समेत अनुसन्धान गर्न निर्देशन दिएको छ ।
गैरकानुनी रुपमा रकम आर्जन गर्नेहरुमाथि अनुसन्धान र कारबाही क्षमतामा नेपालमाथि प्रश्न उठिरहेको बेला सरकारले अपराधबाट आर्जन हुने धनमाथि निगरानी गर्ने संयन्त्र बनाउन लागेको हो ।
सरकारले ‘सम्पत्ति शुद्धीकरण तथा आतंकवादी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी राष्ट्रिय रणनीति’ तयार पारेको हो । गैरकानुनी सम्पत्ति कमाउने प्रवृतिमाथि लगाम लगाउन नसकेका कारण नेपाल सम्पत्ति शुद्धीकरणको मामिलामा नेपालमा जोखिमयुक्त मूलुकको सूचनामा पर्ने सम्भावना छ ।



