काठमाडौं । बंगलादेशमा जारी हिंसात्मक आन्दोलनका कारण बंगलादेशी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर मुलुक छाडेसँगै तत्काल नेपालबाट बंगलादेशमा बिजुली निर्यात झनै अनिश्चित बनेको छ ।
यसअघि साउन १३ मा हुने भनिएको बंगलादेशमा नेपालको बिजुली निर्यातसम्बन्धी सम्झौता कार्यक्रमसमेत त्यहाँ जारी आन्दोलनका कारण स्थगित भएको थियो । सोमवार प्रधानमन्त्री हसिनाले मुलुक छाडेसँगै सेना प्रमुख जनरल वकेर–उज–जमानले नयाँ अन्तरिम सरकार गठन गर्ने घोषणा गरेका छन् । यसले गर्दा दुई देशबीच सम्झौता कहिले र कसरी हुने भन्ने विषयमा थप सन्देह उत्पन्न भएको छ । यद्यपि, बंगलादेशलाई बिजुली आवश्यक भएकाले ढिलै भए पनि नयाँ बन्ने सरकारले नेपालबाट बिजुली किन्ने कुरालाई सकारात्मक रूपले लिन सक्ने सरकारी अधिकारीहरूले बताएका छन् ।



