अर्थमन्त्री विष्णु पौडेलले सुनचाँदीको भन्सार दर घटाउन सरकार तयार रहेको बताएका छन् । साेमबार नेपाल सुनचाँदी ब्यवसायी महासंघ, नेपाल रत्न तथा आभुषण महासंघ र नेपाल हस्तकला महासंघका पदाधिकारीहरुसँगको भेटका क्रममा उनले यस्ताे बताएका हुन् ।
अर्थमन्त्रीले भारतमा भन्सार दर घटेको र त्यसले नेपालमा पारेको प्रभावलाई तत्काल सम्वाधोन गर्न जरुरी रहेको स्वीकार गर्दै यस बिषयमा सम्वद्ध निकायसँग आवश्यक परामर्श गरी छिट्टै निर्णय गरिने प्रतिवद्धता जनाए।
भेटका क्रममा नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष अर्जुन रसाइलीले भारतमा हालै सार्वजनिक भएको बजेट मार्फत् सुनचाँदीको भन्सार दर घटाएर ६ प्रतिशत कायम गरिएको तर नेपालमा यस्तो दर २० प्रतिशत कायम रहेकोले ब्यापार असन्तुलन हुन नदिन तत्काल भन्सार दरलाई घटाई सुनमा ८ प्रतिशत र चाँदीमा ६ प्रतिशत भन्सार दर कायम गरीनु पर्ने आवश्यकता औंल्याए। त्यसक्रममा उनले बैंकले निश्चित समयमा मात्रै सुनको आयात गर्ने तर विद्यमान व्यवस्था अनुसार भन्सार दर भने दिन दिनै परिवर्तन भइरहने भएकोले कारोबारमा समस्या परेको जिकिर गरे । त्यसैले, प्रत्येक १५ दिनका लागि फ्ल्याटमा भन्सार दर कायम गर्नुपर्ने र प्रत्येक १५/१५ दिनमा भन्सार प्रयोजनका लागि भन्सार दर पुनरावलोकन गर्नुपर्ने आवश्यकता रहेकाे पनि उनले औंल्याए।
हाल विद्यमान सिफारिस सिस्टमलाई व्यवस्थित गर्दै दैनिक ५० किलो सुनको आयात गर्ने ब्यवस्था मिलाई त्यसमध्ये ३० किलो बैंक मार्फत् ब्यवसायीका लागि र २० किलो उत्पादक (उद्योग) का लागि छुट्टयाउनु पर्ने खाँचो औंल्याउँदै अध्यक्ष रसाइलीले सुनको आयातमा कोटा प्रणाली कायमै रहेको खण्डमा दैनिक कोटाको आधारमा १ बर्षको ३६५ दिन कायम गरेर बजारको माग र आपूर्ति सन्तुलन हुने गरी सिजन र अफ सिजन अनुसार मिलाई बार्षिक रुपमा तोकिएको कोटाको सिलिङ भित्र रही आयात गर्ने ब्यवस्था हुनु पर्ने बताए।



