काठमाडौं । सरकारले चालू आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासमै ठूलो मात्रामा आन्तरिक ऋण उठाउने तयारी गरेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार सरकारले बजेट कार्यान्वयनका लागि तय गरेको ऋण लिने लक्ष्यअनुसार योजना बनाएरै ऋण उठाउन लागिएको हो । सरकारको ऋण उठाउने जिम्मा यही कार्यालयले पाएको छ ।
बाह्य ऋण कहिले र कति लिने स्पष्ट नभए पनि आन्तरिक ऋणका लागि कार्यालयले सोहीअनुसारको कार्यतालिका बनाइसकेको छ । सरकारले यो वर्ष ३ खर्ब ३० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने घोषणा बजेटमा गरेको छ । सोहीअनुसार ऋण व्यवस्थापन कार्यालयले १ खर्ब १५ अर्ब पहिलो त्रैमासमै उठाउने तयारी गरेको छ । पहिलो त्रैमास उठाउने रकम कुल ऋणको ४० प्रतिशत हो ।



