चितवन । चितवनको भरतपुरमा रहेको भरतपुर अस्पतालले गत आर्थिक वर्ष (आव) २०८०/८१ मा ५६ करोडभन्दा बढीको स्वास्थ्य बीमा सेवा प्रवाह गरेको छ । अस्पतालले गत आवमा स्वास्थ्य बीमा भुक्तानीबापत ५६ करोड १६ लाख ८८ हजार ७५९ रुपैयाँ लिएको हो । उक्त रकम यहाँ आउने बिरामीमध्ये ७० प्रतिशतभन्दा बढी स्वास्थ्य बीमा गरेका बीमितको उपचारबापत प्राप्त भएको अस्पतालले बताएको छ ।
अस्पतालका बीमा कार्यक्रम इन्चार्ज लीलाधर पौडेलले अघिल्लो आव २०७९/८० मा स्वास्थ्य बीमा भुक्तानीबापत ५२ करोड ५० लाख रुपैयाँ लिएको बताए । अस्पतालमा स्वास्थ्य बीमाका दैनिक औसत एक हजार पाँच सय र आकस्मिक औसत ८० ओटा टिकट काट्ने गरिएको जानकारी उनले दिए ।



