सरकारले हरेक नागरिकको लागि अनिवार्य गरेको राष्ट्रिय परिचयपत्रको वितरण प्रकृया झण्झटिलो भइरहदा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले डिजिटल प्रकृयाबाटै परिचय पत्र वितरणको तयारी शुरु गरेको छ ।
महानिर्देशक युवराज कट्टेलका अनुसार विभागले भौतिक कार्डको प्रति आवश्यक नपर्ने गरि डिजिटल कार्ड नै वितरण गर्ने तयारी गरेको छ । त्यसो भएमा परिचय पत्रको लागि फर्म भरेकाहरुले इमेलमै कार्ड पाउनेछन् र त्यसलाई आफै प्रिण्ट गरेर आवश्यक पर्दा उपयोग गर्न सक्नेछन् ।
कहिलेदेखि यसरी डिजिटलरुपमा वितरण हुनेछ भन्ने यकिन भइनसके पनि दशैं अगाडिसम्ममा त्यसरी कार्ड वितरणको शुरुवात गर्ने प्रयास भइरहेको बताइएको छ । नेपालमा करिब एक करोड ९० लाख मानिसहरू राष्ट्रिय परिचयपत्र लिनका लागि योग्य रहेको सरकारको अनुमान छ । त्यसमध्ये अहिलेम्म ४४ लाख मानिसका राष्ट्रिय परिचयपत्र छापिए पनि वितरण प्रकृयामा रहेको झण्झटका कारण करिब नौ लाखले मात्रै परिचय पत्र पाएका छन् ।



