काठमाडाैँ । पूँजी (शेयर) बजारमा पुँजीगत लाभकर गणना विवाद झन् चुलिएकाे छ । सरकारले गत आर्थिक वर्षमै शेयर बिक्री गर्दा पुँजीगत लाभकर लाग्ने व्यवस्था गरेकाे थियाे तर लगानीकर्ताकाे विराेधका कारण कार्यान्वनमा भने आउन सकेकाे थिएन । यस आर्थिक वर्षबाट परिमार्जित रुपमा कार्यान्वयनमा ल्याउन लागिएकाे पुँजीगत लाभकर र साे गणनासम्बन्धी व्यवस्थाबारे लगानीकर्ताहरु असन्तुष्ट रहेका छन् । लगानीकर्ताहरुले कारोबारमा सहभागी भए पनि उनीहरुले भौतिक रुपमा काराेबार राफसाफ नगर्ने भन्दै आन्दाेलित भएका छन् ।
नेपाल इन्भेष्टर्स फोरम, शेयर लगानीकर्ता दबाब समूह, शेयर लगानीकर्ता संघ र नेपाल पूँजीबजार संघले लाभकरमा भएकाे लगानीकर्तालाई पेल्ने व्यवस्थाकाे विराेध गरिरहेका छन् । आइतबार एक संयुक्त विज्ञप्ती जारी गर्दै उनीहरुले कारोबारमा सहभागी भए पनि राफसाफ भने रोक्का गर्न आम लगानीकर्तालाई आग्रह गरेका छन् । विज्ञप्तीमा धितोपत्र राफसाफ प्रक्रियाको जिम्वेवारी पुरा गर्दै आएको सिडिएस एण्ड क्लियरिङ लिमिटेडलाई समेत राफसाफ रोक्का गर्न आग्रह गरिएकाे छ ।








