काठमाडौं : बेलायतको बहुराष्ट्रिय बैंक ‘स्टान्डर्ड चार्टर्ड पीएलसी’ ले मंगलबार १.५ अर्ब डलर बराबरको सेयर ‘बाई ब्याक’ गर्ने घोषणा गरेको छ । उक्त बाई ब्याक रकम चार्टर्डले घोषणा गरेको हालसम्मकै सबैभन्दा ठूलो भएको सीएनबीसीले उल्लेख गरेको छ । चार्टर्डले आफ्नो कोर एसियाली बजारमा बलियो आर्थिक वृद्धि र लागतमा लगाम लगाउने योजना राख्दै यस वर्षका लागि अनुमानित आम्दानी पनि बढाएको छ ।
बाई ब्याकको घोषणापछि हङकङमा सूचीकृत चार्टर्डको सेयर भाउमा ६ प्रतिशत वृद्धि भएको छ । यस वर्षको पहिलो ६ महिनामा चार्टर्डको कर अघिको नाफा ५ प्रतिशतले बढेर ३.४९ अर्ब डलर पुगेको सीएनबीसीले उल्लेख गरेको छ । जुन बैंकले अनुमान गरेको भन्दा बढी हो । आफ्नो अधिकांश आम्दानी एसियाबाट गर्दै आएको चार्टर्डले सञ्चालन आम्दानीको प्रक्षेपण पनि बढाएर ७ प्रतिशत पुर्याएको छ ।





