काठमाडौं– केन्द्रीय बैंकले लघुवित्त वित्तीय संस्था सुधारका लागि विभिन्न कार्यक्रम अगाडि सारेपछि लघुवित्तकर्मी उत्साहित बनेका छन् ।
राष्ट्र बैंकले परिपत्र जारी गर्दै ग्राहक संरक्षण कोषमा राख्नुपर्ने रकमको सीमा बढाएको छ । यसले लघुवित्तको प्रतिफलमा केही संकुचन आउने भए पनि यो व्यवस्था आवश्यक भएको उनीहरु बताउँछन् । मौद्रिक नीतिले लघुवित्त सुधारका लागि निकै राम्रो नीति ल्याएको एनआईसी एशिया लघुवित्तका अध्यक्ष प्रकाशराज शर्मा बताउँछन् । ग्राहक र संस्था दुवैको हित हुने गरी मौद्रिक नीतिमा कार्यक्रम आएको उनले बताए । उनले भने, ‘अप्ठ्यारोमा परेका ऋणीलाई पुनर्संरचना, पुनर्तालिकीकरण लगायतको सुविधा दिइएको छ, जुन अत्यन्तै राम्रो छ । मौद्रिक नीतिमा मर्जरलाई प्रोत्साहन गरिएको छ, पुँजी पनि तोकिएको भए झनै सहज हुने थियो ।’



