काठमाडौँ — विश्वको प्रख्यात विद्युतीय गाडी उत्पादक, टेस्लाका मालिक इलन मस्कले आफ्नो आर्टिफिसियल इन्टेलिजेन्स (एआई) स्टार्टअप कम्पनी एक्स एआईमा ५ अर्ब डलर लगानी गर्ने प्रस्ताव अघि सारेका छन् । यसबारे उनले टेस्ला बोर्डसँग छलफल गर्ने बताएपपछि यसले स्वार्थको द्वन्द्व सिर्जना गर्ने प्रविधि विज्ञहरूले टिप्पणी गरेका छन् । एआई सुरक्षित छैन भनेर बेलाबखत अभिव्यक्ती दिँदै आएका इलन एक्सएआईको विस्तारमा भने नयाँ-नयाँ पहल गर्दै आएका छन् ।
च्याटजीपीटी निर्माता ओपेनएआईसँग प्रतिश्पर्धा गर्ने हिसाबले इलनले गत वर्ष एक्सएआई स्थापना गरेका थिए । यसलाई अघि बढाउन हाल उनले टेस्लाको अलिकति स्रोत एक्स एआईमा लगानी गर्न चाहेका हुन् । यसबारे उनले एक्समा ५ अर्ब डलर लगानी गरौं कि नगरौं भनेर यो साता पोल (अनलाइन सर्वेक्षण) समेत गरेका थिए । करिब १० लाख सहभागीमध्ये दुई तिहाइले लगानीको पक्ष मत दिए पनि त्यसमध्ये कतिजना टेस्लाका लगानीकर्ता हुन् भन्ने खुलेको छैन । ‘सर्वसाधारण यसको पक्षमा देखिन्छन्अ, अब म टेस्ला बोर्डसँग छलफल गर्छु,’ इनलले एक्समा लेखेका छन् ।


