काठमाडौं । बैंक, वित्तीय संस्थाहरूले भारतीयबाहेक अन्य विदेशी मुद्रामा ऋण लिँदा विनिमय दर परिवर्तनबाट हुने जोखिमको दायित्व नेपाल राष्ट्र बैंकले लिने भएको छ । आइतवार राष्ट्र बैंकले स्वाप कारोबार विनियमावली–२०८१ जारी गर्दै विदेशी मुद्राको ऋणलाई निश्चित दरमा खरीदविक्री गर्न सक्ने व्यवस्था गरेको हो ।
विनियमावलीअनुसार विदेशी मुद्रामा ऋण ल्याउने बैंक र राष्ट्र बैंकबीच ‘खरीदविक्री अमेरिकी डलर/नेपाली रुपैयाँ स्वाप’ कारोबार गर्न सकिनेछ । यस्तो कारोबारको पहिलो चरणमा राष्ट्र बैंकले ऋण ल्याउने बैंकसँग तोकिएको दरमा अमेरिकी डलर खरीद गरी नेपाली रुपैयाँ विक्री गर्नेछ । यसैगरी दोस्रो चरणमा पहिले खरीद भएको रकम बराबरको डलर तोकिएको मिति र विनिमय दरमा नै राष्ट्र बैंकले बैंकलाई विक्री गरी नेपाली रुपैयाँ खरीद गर्ने व्यवस्था छ ।



