विराटनगर । नेपालकै पहिलो उद्योग विराटनगर जुटमिल सञ्चालनमा भारतीय र बंगलादेशी कम्पनीले चासो देखाउन थालेपछि सरकारले सञ्चालक समिति बनाएर साधारणसभा गर्ने तयारी गरेको छ । जुटमिल सञ्चालनमा भारतीय व्यावसायिक घराना टाटा ग्रुपले चासो दिएर प्राविधिक अध्ययन समेत गरेर फर्किएपछि सरकारले निजी कम्पनीहरूसँग सहकार्यको गृहकार्य थालेको छ ।
सरकारले गठन गरेको ५ सदस्यीय सञ्चालक समितिमा राजेन्द्र कार्की अध्यक्ष छन् । टिकाराज ढकाल, मुकुन्दप्रसाद नेपाल, कोष तथा लेखा नियन्त्रण कार्यालय प्रमुख र वाणिज्य कार्यालय प्रमुख सदस्य छन् । २०६६ माघ १ गते ‘पेअफ’मा गएको उद्योगले पुन: मिल सञ्चालनका लागि भन्दै ४० जना कर्मचारी करारमा राखेको थियो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा भारतको टाटा कम्पनीका प्राविधिक आएर झन्डै २० दिन मिलको विस्तृत अध्ययन गरेर फर्किएको अध्यक्ष कार्कीले जानकारी दिए । उद्योग सञ्चालन गर्न सरकारले मात्र नसक्ने र भरपर्दाे निजीक्षेत्रको लगानी आवश्यक पर्ने भएकाले विदेशी कम्पनीलाई जुटमिलको भौतिक अवस्था अध्ययन गर्न लगाएको उनले बताए ।



