राष्ट्रिय सहकारी महासंघले नेपाल राष्ट्र बैंकले जारी गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिलाई स्वागत गरेको छ । महासंघले सहकारी क्षेत्र लगायत समग्र अर्थतन्त्रलाई चलायमान बनाउने नीति आएको भन्दै स्वागत गरेको हो ।
बचत तथा ऋण सहकारी संस्थाहरूको प्रभावकारी नियमन तथा सुपरिवेक्षणका लागि छुट्टै विशिष्टीकृत नियामक निकाय स्थापनामा सहजीकरण गर्ने राष्ट्र बैंककाे उद्घोषले सहकारीप्रति विश्वासको वातावरण पुर्नस्थापित हुने महासंघको विश्वास छ ।
समस्याग्रस्त सहकारीका संचालक र एकाघरको परिवारका सदस्यको नाममा रहेको सम्पत्तिको धितोको सुरक्षणमा ५ लाख रुपैयाँसम्मका सदस्यको बचत रकम फिर्ता गर्न नेपाल सरकारलाई सहजीकरण गर्ने व्यवस्था मौद्रिक नीतिमा समावेश भएको छ । यसले समस्याग्रस्त सहकारीका बचतकर्ता सदस्यहरूको बचत फिर्ता सहज रूपमा हुने वातावरण सिर्जना भएको महासंघले जनाएको छ ।
चालु मौद्रिक नीतिले चालु आर्थिक वर्षको बजेट र मौद्रिक नीतिको प्रभावकारी समन्वयमार्फत नेपालको अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पु¥याउने विश्वास व्यक्त गर्दै मौद्रिक नीतिका नीतिगत व्यवस्था पूर्ण कार्यान्वयन हुने अपेक्षा महासंघको छ ।



