काठमाडौं । गत आर्थिक वर्ष (आव) २०८०/८१ मा स्मार्टफोन, हेडफोन र मोबाइल चार्जरको आयातमा मात्र मुलुकबाट करीब रु साढे ३१ अर्ब बाहिरिएको छ । भन्सार विभागले सार्वजनिक गरेको गत आवको वैदेशिक व्यापारसम्बन्धी तथ्याङ्कअनुसार नेपालले बढी आयात गर्ने वस्तुहरूमा पेट्रोलियम पदार्थ र फलामजन्य वस्तुपछि तेस्रो स्थानमा स्मार्टफोन छ ।
गत आवमा स्मार्टफोन आयातमा मात्र रु २८ अर्ब ६६ करोड ६२ लाख ३५ हजार बराबर बाहिरिएको हो । यस अवधिमा १८ लाख ३९ हजार ३५ सेट स्मार्टफोन नेपाल भित्रिएका छन् । स्मार्टफोनको आयातबाट सरकारले रु पाँच अर्ब ३३ करोड ९४ लाख बराबर भन्सार राजस्व उठाएको पनि विभागको तथ्याङ्कबाट देखिन्छ । गत आवमा रु एक अर्ब ४२ करोड ९० लाख ८५ हजार बराबरको १७ लाख ५८ हजार ६ सय ९० सेट टेलिफोन आयात भएका छन् ।



